बिगत लामो समयदेखी यसरी ठगीरहेको छ नेपाल टेलिकमले..
पछिल्लो समयमा नेपालमा इन्टरनेट प्रदायक कम्पनीहरु धेरै थपिएका छन् । धेरै स्पिडहरु दिने भन्दै धेरै कम्पनीहरुले विज्ञापन गरिरहेका हुन्छन् । तर सेवाग्राहीहरु भने पटक पटक त्यस्तै कम्पनिहरुबाट ठगीन पुग्छन् । भनेको जति स्पिड नदिने, बिग्रिएपछी राम्रो सपोर्ट नदिने, इन्टरनेट चल्दै नचले पनि पैसा लिने, इन्टरनेट जोड्ने भन्दै कम्पनी अनुसारको डिभाइसहरु किन्न लगाउने, जस्ता क्रियाकलापहरुले ग्राहकहरु निकै मारमा परेका हुन्छन् ।
यस्तै कम्पनिहरु मध्ये इन्टरनेट सर्भिस प्रोवाइड गर्ने ठूलो संस्था नेपाल टेलिकम पनि हो । यसले उपलब्ध गराउने इन्टरनेटहरु मध्ये ADSL सबै भन्दा धेरै ग्राहकहरुले प्रयोग गर्ने अनलिमिटेड इन्टरनेट अन्तर्गत पर्दछ । आफूलाई नेपालकै ठूलो इन्टरनेट सर्भिस प्रोवाइडरको रुपमा मान्ने नेपाल टेलिकमले धेरै जिल्लामा इन्टरनेट पुर्याएका छौ भनिरहेको हुन्छ, तर केही सुगम जिल्लाहरुमा बाहेक दुर्गम जिल्लाहरुमा टेलिकमको निकै लापर्वाही भएको देख्न सकिन्छ ।
हिमालपारीको जिल्ला भनेर चिनिने मनाङ जिल्लामा बिगत लामो समय देखी टेलिकमको निकै ठूलो ठगी भैरहेको छ । धेरै महिना देखी मनाङको सदरमुकाम चामेमा टेलिकमले ADSL इन्टरनेटको पैसा लिने तर ग्राहकले पाउनुपर्ने इन्टरनेट स्पिड भन्दा धेरै (ग्राहकले पाउनुपर्ने स्पिडको १० प्रतिशतको स्पडी पनि नचल्ने) कम दिने गर्दै आइरहेको छ । जसका कारण स्थानियवासी, होटल व्यवसाय तथा सदरमुकाममा भएका धेरै नेपाल सरकारका कार्यालयहरु पनि नेपाल टेलिकमसँग निकै आक्रोशित भएका छन् ।
यति लामो समयदेखी इन्टरनेटमा यस्तो समस्या देखिए पनि कुनै ध्यान नदिएको स्थानियवासीहरु बताउँछन् । केही समय अगाडी मनाङकै तिल्चे गाउँमा नेपाल टेलिकमको इन्टरनेट, फोन, सिडिएमए लगायत सबै सेवाहरु लगभग २ बर्ष सम्म अवरुद्द भएको थियो । त्यसबेला पनि नेपाल टेलिकमले कुनै चाँसो देखाएको थिएन ।


