धादिङमा बस दुर्घटनामा, मृतकको संख्या १४ पुग्यो, ९ को अवस्था गम्भीर

काठमाडौं, ११ असोज ।
धादिङको उत्तरी क्षेत्रको मार्पाक गाविसमा यात्रुबस दुर्घटना हुँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ । सदरमुकाम धादिङवेसीबाट दार्खा गाविसको किन्ताङफेदी जाँदै गरेको ना ४ ख ३३१८ नम्बरको बस मार्पाक गविसस्थित लापाङ चौतारा नजिकै सडकबाट करीव २०० मिटर तल खसेको बताइएको छ ।
दुर्घटनामा अहिलेसम्म पुरूष १० र महिला ४ गरि १४ जनाको मृत्यु भएको धादिङका एसपी शरद खत्रीले जानकारी दिएका छन् । दुर्घटनामा ९ जना गम्भीर घाइते भएका छन्, उनीहरूको उद्दारका लागि हेलिकप्टर पठाउने तयारी भइरहेको एसपी खत्रीले जानकारी दिए ।
कच्ची बाटो र क्षमताभन्दा बढी यात्रुका कारण दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ । उद्धारमा खटिएका स्थानीयका अनुसार मृतकको संख्या अझै बढ्नसक्ने अनुमान छ । दुर्घटनाग्रस्त बसमा अझै केहि मानिसहरु च्यापिएका छन् । दुर्घटनास्थलमा केहिबेर अघिमात्र प्रहरी पुगेको थियो ।

