दिउँसै रक्सीले मातेर बिरामी जाँच्ने नेपालका स्वास्थ्य प्रमुख यस्ता छन् हेर्नुहोस्
बिरामी भए कहाँ जाने ? सबैको उत्तर आउँछ स्वास्थ्य संस्था । तर, बिरामीलाई सेवा दिने स्वास्थ्यकर्मी नै मादक पदार्थले मस्त हुन्छन् भने के गर्ने ? कास्कीको एक स्वास्थ्य चौकी प्रमुख कार्यालय समयमै रक्सीले मातेका छन् । लाहाचोक स्वास्थ्य चौकी प्रमुखले मादक पदार्थले मस्त भएर बिरामी जाँच गर्ने गरेका हुन् ।
चौकी प्रमुख सिनियर अहेब केशवराज अधिकारीले दिउँसै रक्सी खाएर कार्यालय जाने र नशामै बिरामी जाँच गर्ने गरेको सेवाग्राहीले गुनासो छन् । स्वास्थ्य चौकीको सेवादेखि व्यवस्थापनसम्म हेर्नुपर्ने व्यक्तिले नै रक्सी खाएर कार्यालय पुगेर जाँच गर्दा चौकीप्रति सेवाग्राहीको नकरात्मक दृष्टिकोण बढेको एक व्यवस्थापन समिति सदस्यले बताए ।
‘स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रका प्रमुख नै रक्सीले मातेर स्वास्थ्य चौकी आउँछन्,’ एक सेवाग्राहीले भने, ‘डर र जोखिम पालेर उपचारका लागि आउनु परेको छ ।’ स्वास्थ्य प्रमुख नै रक्सी पिएर आउँदा अन्य स्वास्थ्यकर्मीमा पनि नकारात्मक असर परेको र लाहाचोककै गलत सन्देश गएको नेपाली कांग्रेस गाउँ इकाइ सभापति मधुसुदन अधिकारीले बताए ।
रक्सी खानै पर्ने भए पनि कार्यालय समयभन्दा बाहेक खान आग्रह गर्दा पनि नभएको लाहाचोक गाविस सचिव तथा स्वास्थ्य व्यवस्थापन समिति अध्यक्ष बोधराज सापकोटाले बताए ।
‘कार्यालय समयमै मादक पदार्थ सेवान गर्नु निन्दनीय हो, खानै पर्ने भए पनि अरु बेला खाने हो,’ अध्यक्ष सापकोटाले भने, ‘नत्र नखाइ नसक्ने हो भने जिल्ला जनस्वास्थ्य कार्यालयले सुविधा दिएर बिदा गर्नुपर्छ र चौकीमा अर्को व्यक्ति पठाउनु पर्छ ।’
चौकी प्रमुख अधिकारीले सेवा राम्रो दिने भए पनि मादक पदार्थ सेवनकै कारण नकरात्मक प्रभाव परेको स्वास्थ्य स्यमंसेविका तथा व्यवस्थापन समिति सदस्य गौरीकुमारी क्षेत्रीले बताइन् ।
जिल्ला जनस्वास्थ्य कार्यालयको सहयोगमा समुदायमा आधारित पुनस्र्थापना सेवा (सिबिआरएस) को आयोजनामा मंगलबार भएको सामाजिक परीक्षणमा अधिकांस सेवाग्राही तथा व्यवस्थापन समितिका व्यक्तिले अधिकारीको क्षमता र सेवा राम्रो भए पनि कार्यालय समयमै मादक पदार्थ सेवन गर्ने गरेको गुनासो गरे ।
चौकी प्रमुख अधिकारीले आगामी दिनमा मादक पदार्थ सेवन गरी स्वास्थ्य चौकी नआउने प्रतिवद्धता गरे ।
नाम मात्रैको स्वास्थ्य केन्द्र
सरकारले देशभरका उपस्वास्थ्य चौकीलाई स्वास्थ्य चौकीमा रुपान्तरण गरे पनि भौतिक पूर्वाधार, आवश्यक जनशक्ति र उपकरणको अभाव हुँदा सेवाग्राहीले सेवा पाउन सकेका छैनन् ।
गाविसको भवनसँगै रहेको लाहाचोक स्वास्थ्य चौकीको अवस्था नाजुक छ । दुई वटा साँघुरो कोठाबाट सेवा दिनुपरेको छ भने एउटै कोठालाई पाटेसन गरी बर्थिङ सेन्टरको समेत सेवा प्रदान गरिएको छ । खुद्रा दोकान जस्तो देखिने स्वास्थ्य चौकी नाम मात्रैको भएको गुनासो सेवाग्राहीको छ ।
‘प्रत्येक पटक भौतिक पूर्वाधार निर्माणको कुरा उठ्छ तर, कार्यान्वयन हुन सकेको छैन,’ व्यवस्थापन समिति सदस्य विष्णुप्रसाद पौडेलले भने, ‘गाउँकै व्यक्तिले पैसा उठाएर किनेको परिवार नियोजनको जग्गा माग गर्दा पनि स्वीकृति पाइएको छैन ।’ चौकीमा बर्थिङ सेन्टर छ तर एक वर्षमा जम्मा ३ जनाले निशुल्क सेत्केरी सेवा लिएका छन् ।
पूर्वाधार निर्माणका लागि नयाँ नियम अनुसार स्वास्थ्य चौकीको आफ्नै पाँच रोपनी जग्गा चाहिन्छ । ‘हामीले नै पैसा उठाएर किनेको परिवार नियोजनको तीन रोपनी जग्गा स्वास्थ्य चौकी निर्माणका लागि स्वीकृति दिनुहोस् भन्दा पनि पाएका छैनौं,’ सेवाग्राही गंगाबहादुर सुनारले भने ।
स्वास्थ्य चौकीको भएको भवन साँघुरो हुँदा र आफ्नै भवन बनाउन जग्गा नहुँदा समस्या भएको चौकी प्रमुख केशवराज अधिकारीले बताए ।
सेवाग्राहीको गुनासै–गुनासो
लाहाचोक स्वास्थ्य चौकीमा ८ जना स्वास्थ्यकर्मी छन् । राम्रो सेवा दिएको स्वास्थ्य चौकीले दाबी गर्छ तर सेवाग्राहीका गुनासै गुनासा छन् । स्वास्थ्यकर्मी बिहान ढिलो आउने २ बजे लगत्तै जाने गरेको सेवाग्राहीले गुनासो गरेका छन् ।
सरकारले ३ बजेसम्म बिरामी जाँच र ५ बजेसम्म प्रशासनिक काम गर्नु पर्ने नियम बनाएको छ । तर, स्वास्थ्यकर्मी कुनै पनि दिन निश्चित समयसम्म स्वास्थ्यचौकी नबस्ने स्थानीय विष्णु पौडेलले बताए । स्वास्थ्यचौकीमा पानीको व्यवस्था नहुँदा शौचालय तथा सेवाग्राहीले पानी खान समेत नपाउने अवस्था छ ।
गुणस्तरीय औषधी नदिएको, केके औषधी निशुल्क पाइन्छ, चौकीले कुनकुन कार्यक्रम सञ्चालन गरेको छ भन्ने जानकारी नदिएको, बडापत्र, सूचना पार्टी, अनुगमन चार्ट नराखेको भेटिएको छ ।
स्वास्थ्य चौकी प्रमुख अधिकारीले सेवाप्रवाहलाई सुधार्न तथा स्ववस्थापनका लागि आफूले सक्दो प्रयास गर्ने प्रतिवद्धता जनाए ।
स्रोत : समाधानन्यूज


