काठमाडौँ ३ माघ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रो देशको जस्तो लोकसंस्कृति संसारमै कमै मात्र देशमा रहेकाले यसलाई विश्वभर फैलाउनुपर्ने बताउनुभएको छ ।
नेपाल सांस्कृतिक संस्थानले आज यहाँ आयोजना गरेको ‘चौतारी साँझ–२०७२’ हेर्न पुग्नुभएका उहाँले बाँसुरी लगायतका लोक वाद्यवादनबाट निस्कने धुनमा पुर्खाका धेरै गाथा लुकेको बताउनुभयो ।
करिब ३५ सय वर्षअघिका कृष्णले बाँसुरीको धुन बजाएर धेरैलाई लठ्ठ पारेको दृष्टान्त दिँदै उहाँले भन्नुभयो, “पुर्खाबाट विरासतमा पाएको संस्कृति र वरदानमा पाएको प्रकृति दुबैमा हामी धनी छौँ ।”
सांस्कृतिक कार्यक्रममा जापानमा बसेर ‘चौतारी समूह’को नाममा नेपाली लोक संस्कृतिलाई विश्वभर फैलाउन सफल दुई दाजुभाइ पञ्च लामा र श्रवण लामाले बाँसुरीको धुनमार्फत दर्शक श्रोतालाई मन्त्रमुग्ध पारेका थिए ।
जापानी कलाकार तेरोकातोसहित प्रस्तुत भएका उनीहरुले ‘देशले रगत मागे…’, ‘ए कान्छा ठट्टैमा यो बैँस जान लाग्यो …’, हिमालयन सनसेट’, ‘सिन्धुपाल्चोक ’ लगायतका गीतका धुनलाई बाँसुरी, तबला आदि वाद्यवादनमार्फत प्रस्तुति दिएका थिए ।
सोही अवसरमा विदेशमा बसेर पनि नेपाली मौलिक सङ्गीतको प्रवद्र्धन गरेको भन्दै कलाकारद्वय लामा दाजुभाइलाई सांस्कृतिक संस्थानका तर्फबाट प्रधानमन्त्री ओलीले दोसल्ला ओढाएर मायाको चिनोसहित सम्मान गर्नुभयो ।
सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले लामा दाजुभाइले जापानसहित धेरै देशका सांस्कृतिक कार्यक्रमबाट उठेको रु १८ लाख बराबरको रकम यहाँका द्वन्द्वपीडित तथा भूकम्पपीडित लगायतलाई सहयोग गरेकाले उहाँहरु सम्मानको लायक रहेको बताउनुभयो ।
उक्त ‘चौतारी साँझ’ हेर्न राजनीतिक दलका नेता, विभिन्न देशका राजदूत तथा कलाकारलगायत सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो । रासस